रकम अभावले सशस्त्र प्रहरी बल बि.ओ.पी छरछरेकाे भवन निर्माण कार्य रोकियाे

माडीको छरछरेस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा निर्माणाधीन सेड टाइपको पाँचकोठे भवनको निर्माण कार्य रोकिएको छ ।

भवनमा छाना हाल्न बाँकी रहेको अवस्थामा दाताको अभावमा भवन निर्माण रोकिएको हो । गतबर्ष पौष २१ गते ३ महिनामा निर्माण पुरा गर्ने लक्ष्य सहित माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । माडी नगरपालिकाले ११ लाख रुपैंया बजेट विनियोजन गरेसंगै निर्माण थालिएपनि नगरपालिकाबाट बजेट निकाशा हुन नसक्दा काम प्रभावित भएको हो ।

नगरपालिकाबाट रकम निकाशा नहुँदा माडीका विभिन्न संघसंस्था र निकायहरुको सहयोगमा निर्माण कार्य चलेको थियो । भवनलाई माडीका ब्लक व्यवसायीले २ हजार ९ सय ५० थान ब्लक, हार्डवेयर तथा निर्माण व्यवसायीले २ सय ३० बोरा सिमेन्ट र ट्रयाक्टर व्यवसायीले १५ टिप ढुंगा एवं ११ टिप बालुवा सहयोग गरेका छन् । पोष्टमा कार्यरत सशस्त्र प्रहरीले १५ टिप ढुंगा र ११ टिप बालुवा जुटाएका छन् । त्यसैगरी माडी नगरपालिकाले क्रसर प्लाण्टमार्फत २ ट्रयाक्टर बालुवा र ३ ट्रयाक्टर गिटी सहयोग गरेको छ । अब छानामा हाल्ने टिनको खाँचो रहेकोले दाताको खोजी भइरहेको पोष्टले जनाएको छ ।

निर्माणाधीन भवनमा कार्यालय प्रमुख र जवानहरुको आवास, स्टोर, कार्यालय र हातहतियार राख्ने कोठा रहनेछन् । विगत २०७० सालमा सोमेश्वर सामुदायिक बन उपभोक्ता समितिको काठेघरलाई आधार लिएर माडी-५, छरछरे क्षेत्रमा स्थापित सो पोष्टका प्रहरीहरु अस्थायी प्रकृतिको आवासगृहमा असहज अवस्थामा बस्दै आएका छन् । ३५ जनाको दरबन्दी रहेको सो पोष्टले नेपाल भारत सीमा अन्तरगत करीब ४५ किलोमिटर दुरीमा रहेका ४६ देखि ५४ नम्बरका पिल्लरहरुको सुरक्षा एवं विभिन्न सामुदायिक जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु