माडी स्पीकिङ आइडलको उपाधी जनजीवन मा.वि की छात्रा सोनु अधिकारीलाइ

विद्यालय तहका विद्यार्थीहरुको वक्तृत्व, अभिव्यक्तिकला र नेतृत्व क्षमताको विकासका लागि जारी माडी स्पीकिङ आइडलको उपाधी जनजीवन माध्यमिक विद्यालयका छात्रा सोनु अधिकारीले पाउनुभएको छ । त्यसैगरी प्रतियोगिताको दोश्रो स्थान माडी माध्यमिक विद्यालयका छात्र सुजन क्षेत्री तथा तेश्रो स्थान दिवाकर स्मृति विद्यालयकी छात्रा शिला पाठकले हासिल गर्नुभएको छ । सान्त्वना अर्थात चौथो स्थान दिवाकर स्मृति विद्यालयकै महिमा सुवेदीले प्राप्त गर्नुभयो ।

हेल्पिङ सोसाइटी नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित सो प्रतियोगिता अन्तरगत विद्यालय चरणको अडिसनबाट कुल ९४ जना प्रतिस्पर्धीहरु छनौट भएका थिए । सो मध्ये अन्तिम चरणमा २० जनाबिच आज सोमबार विभिन्न शीर्षकहरुमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । फाइनलका विजेताहरु मध्ये प्रथम, दोश्रो र तेश्रो हुने सहभागीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा क्रमशः रु ६,०००/–, ४,०००/– र २,०००/– पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका चारैजना बिजेताहरुले २०१९ मा सञ्चालन हुने राष्ट्रिय स्तरको पब्लिक स्पीकिङ च्याम्पमा अडिसन नदिइ सिधै सहभागी हुन पाउने जनाइएको छ ।

कार्यक्रम संयोजक युवराज घिमिरेको अध्यक्षतामा सम्पन्न फाइनल तथा समापन कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय स्तरको पब्लिक स्पीकिङ च्याम्पमा सहभागी हँदा लाग्ने खर्च माडी नगरपालिकाले व्यहोर्ने जनाउनुभएको थियो । कार्यक्रममा माडीका शैक्षिक तथा अन्य संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु