भूमिगत प्रसारण लाइनमा समस्या देखिएसंगै बुधबार साँझदेखि माडीको बिजुली अवरुद्ध

नेपाल बिद्युत प्राधिकरणको भूमिगत प्रसारण लाइनमा समस्या देखिएसंगै बुधबार साँझदेखि माडीको बिजुली अवरुद्ध रहेको छ । बुधबार साँझ करीब ८ बजेदेखि चनौली जगतपुर माडी ३३ केभी सब प्रशारण लाइन अन्तरगत चितवन राष्ट्रिय निकुञ्जमा बिछ्याइएको भूमिगत केबुलको एउटा फेजमा खराबी आएसंगै माडीको बिजुली अवरुद्ध भएको हो ।

नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार बिहिबार दिनभर प्राधिकरणको टोलीले निकुञ्जभित्र फल्ट पत्ता लगाउने प्रयास गरेको थियो । एलोकेटर मेसिन सहित काम गरिएको भएपनि समस्या रहेको ठाउँ पत्ता नलाग्दा आज बिजुली सुचारु हुन सकेन । अब शुक्रबार बिहानैदेखि पुनः फल्ट पत्ता लगाउने काम सुरु गरिने भरतपुर केन्द्र प्रमुख सुरेश महतोले जनाउनुभयो । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा पत्रकार देव अञ्जान शाहसंग कुराकानी गर्दै भरतपुर केन्द्र प्रमुख महतोले फल्ट पत्ता लगाउन भोलि शुक्रबार आफू स्वयम् खटिने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि पनि निकुञ्ज भित्रको केबुल पड्किँदा हप्तौंसम्म बिजुली जाने गरेको थियो । नेपालकै लामो भूमिगत बिजुली प्रसारण लाइनका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा निरन्तर केबुल बिग्रीने र त्यसलाई मर्मत गर्ने सन्दर्भमा फल्ट पत्ता लगाउन भारतीय एलोकेटर मेसिन र भारतीय प्राविधिकहरु ल्याउने गरिएको थियो । यसरी मेसिन ल्याउन कहिलेकाँही हप्तौंसम्म लाग्ने गरेकाले हप्तौंसम्म माडी उपत्यकामा बिजुली अवरुद्ध हुने गरेको थियो । पटक पटक भारतीय मेसिन ल्याउँदा हैरान परेको प्राधिकरणले हाल आफ्नै स्वामित्वमा रहनेगरी फल्ट एलोकेटर खरिद गरेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु