माडीका समस्या समाधानका लागि संयुक्तरुपमा पहल गर्ने नारायणकाजी श्रेष्ठ प्रकाशकाे प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले माडीका समस्या समाधानका लागि संयुक्तरुपमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । शुक्रबार दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा आयोजित “माडी क्षेत्रका शैक्षिक इतिहास निर्माताहरुसँग संवाद, गुणस्तरीय शिक्षाको पहलका लागि नयाँ शुरुवात बिषयक” शैक्षिक गोष्ठी कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पूर्व प्रधानमन्त्री प्रचण्ड माडी क्षेत्रकै निर्वाचित जनप्रतिनिधि तथा सत्तारुढ पार्टीको अध्यक्ष समेत रहनुभएको र आफूपनि माडीसंग भावनात्मक रुपले जोडिएकाले माडीको विषयमा अध्यक्ष प्रचण्ड एवम् प्रधानमन्त्रीसंग बसी माडीका समस्या समाधानका लागि संयुक्तरुपमा पहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । यसका लागि माडीका स्थानीय जनप्रतिनिधीहरु केन्द्रमा आउन उहाँको आव्हान थियो । उहाँले माडीको विकासमा रहेका समस्याहरु समाधानका लागि बुँदागत रुपमा अवधी तोकेर निर्णयक ठाउँमा पहलकदमी नहुुनु ठूलो कमजोरी भएको औंल्याउनुभएको छ ।
देशमा निरंकुशतन्त्र अन्त्य भई नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र समाजवाद उन्मुख समावेशी लोकतान्त्रिक संविधान बनेको अवस्थामा राजनैतिक उपलब्धीहरु अब सामाजिक तथा आर्थिक रुपान्तरणमा बदलिनुपर्ने प्रकाशको भनाई थियो । देशलाई सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउन फलामे ढोकाको रुपमा रहेका चरम भ्रष्टाचार र कुशासन चिर्न भने बाँकी नै रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु