हरितालिका तीजको अवसरमा माडीमा बृहत तीज उत्सव २०७५ सम्पन्न

आज हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा बृहत तीज उत्सव २०७५ सम्पन्न भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै ब्राह्मण समाज नेपाल र शिवशक्ति महिला समूह बसन्तपुरको आयोजना तथा गुप्तेश्वर महादेव शिव मन्दिर बसन्तपुर, नेवा राज समाज, नेपाल सुनचाँदी व्यवयासी संघ माडी, झिलिमिलि मार्केट व्यवस्थापन समिति र बैदिक धर्म परिषद् माडी शाखा लगायतका संघसंस्था र समूहहरुको सहकार्यमा सहभागितामुलक तीज उत्सव भएको हो । बसन्तपुरको शहीदचोकमा सम्पन्न सो कार्यक्रममा स्थानीयबासीहरुको भव्य सहभागिता रहेको थियो । कार्यक्रमको स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रसारण गरेको थियो भने भरतपुरको अभियान टेलिभिजनले छायाँकन गरेको थियो जसलाई टेलिभिजनमा प्रसारण गरिने छ ।

त्यस्तै, तीजकै सन्दर्भमा आज बसन्तपुरमा दिवाकर चोकमा एक छुट्टै प्रतियोगितात्मक तीज कार्यक्रम समेत सञ्चालन भएको छ । कार्यक्रममा महिला समूह स्तरमा तीज तथा नृत्य प्रतियोगिता गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रममा तीजका गीतमा नृत्यसंगै गीत गायन र सडक नाटक प्रस्तुति गरिएको थियो ।

उता, माडी नगरपालिका वडा नं. ८ बजार व्यवस्थापन समिति तथा भीमसेन नेवार समाजले खरकट्टा बजारमा खुला नृत्य सहित खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष कदम शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी रहनुभएको थियो । आज सम्पन्न कार्यक्रममा जनजीवन टोलसुधार समिति खरकट्टा प्रथम, खरकट्टाकै दीपा काफ्ले र कृष्ण महर्जनको टोली दोश्रो, झरना श्रेष्ठ तेश्रो तथा अञ्जली पुरीले चौथो वा सान्त्वना स्थान हासिल गर्नुभयो । कार्यक्रम अन्तरगत घैंटो फुटाउने, बाँसमा चढ्ने लगायतका रमाइला खेलहरु समेत सञ्चालन गरिएका थिए ।

तीज पर्वकै अवसरमा माडीको जगन्नाथपुरी बाबियो डाँडामा पनि तीज विशेष कार्यक्रम सञ्चालन गरिएको छ । बाबियो डाँडा तीज मेला व्यवस्थापन समितिको संयोजक कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा रहनुभएको थियो । कार्यक्रम अन्तरगत तीज गीत तथा नृत्य प्रतियोगिता, खुल्ला भलिबल, कुर्चीचाल, घैंटोफोर लगायतका रमाइला खेलकुद सञ्चालन गरिएका थिए ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु